मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्ज भन्सार नाकामा फेरि अवरोध गरेका छन् । सोमबार विहान प्रहरीले बल प्रयोग गरी हटाए पनि मोर्चाका कार्यकर्ताहरु फेरि नेपाल-भारत सीमाको मितेरी पुलमा धर्नामा बसेका छन् ।
विहान प्रहरीले मोर्चाका कार्यकर्ताहरुलाई मितेरी पुलबाट हटाएर सीमामा रोकिएका केही गाडीहरुलाई सीमा पार गराएको थियो । तर नेपाली अधिकारीहरुको व्यवस्थाकीय कमजोरीका कारण भारततर्फ रोकिएका नेपाली गाडीहरु नेपाल भित्रिन पाएनन् । तर, नेपालतर्फ रोकिएका २१९ भारतीय गाडीहरु भने आफ्नो देश फर्किएका छन् ।
नेपाली भन्सार अधिकारीहरुका अनुसार भारतीय भन्सार पास भएका झण्डै ५ सय गाडीहरु लामो समयदेखि भारतीय क्षेत्रमा रोकिएका छन् । जसमा १५४ ग्यास बुलेट र ६७ इन्धनका ट्यांकरसमेत छन् ।
तर, अब वीरगञ्जको अवस्था तनावपूर्ण भएकाले नेपाली गाडी आउने सम्भावना कम हुँदै थएको छ । वीरगञ्ज र रक्सौल नाकाको मितेरी पुलमा मधेसी मोर्चाका आन्दोलनकारीहरु जम्मा भएर फेरि अवरोध पुर्याएका छन् ।